जनकपुरधाम, बैशाख २६ ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ताधारी ५ दलीय गठबन्धनका प्रमुख नेताहरु आफ्ना उम्मेदवारहरुका लागि मत माग्न देशको प्रमुख प्रमुख स्थानहरुको दौडाहामा लागेका छन् । ५ दलिय गठबन्धनको चुनावी आमसभाकै क्रममा ५ दलका प्रमुख नेताहरु शनिबार जनकपुरधाम पुगेका थिए ।
चुनावीसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थिति थियो । कार्यक्रममा भने नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि गृहनगरमै आयोजना गरिएको चुनावीसभामा अनुपस्थित देखिए । उनको अनुपस्थितिले जनकपुरधाममा गठबन्धन भित्रको स्थितिबारे छरपष्ट पारेको जानकारहरु बताउँछन् ।
निधि अनुपस्थित रहेको आमसभामा जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरु उल्लेख्य संख्यामा उपस्थित थिए भने कांग्रेसी कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । तर कांग्रेसकै देउवा पक्षधर कार्यकर्ताहरुको मात्रै आमसभामा उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस धनुषामा भएको अधिवेशनको समयमा निधि गुटमै रहेका नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार देउवा गुटमा प्रवेश गरि सकेका छन् । उनैले चुनावीसभाको अध्यक्षता गरेका थिए । यसका साथै निधि नजिककै मानिएका मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको समेत उपस्थिति रहेको थियो ।
निधिको मञ्चमा अनुपस्थित नहुँदा गठबन्धनलाई ठूलो धक्का पुगेको कांग्रेसी कार्यकर्ताहरु बताउँछन् ।
चुनावी आमसभा आयोजना हुनुभन्दा करिब २ दिन पहिले मात्रै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनकपुरधाममा आयोजन हुने कार्यक्रममा सहभागी हुन निधिलाई पत्र समेत पठाएका थिए । तर निर्वाचन परिचालन समितिले चुनावी सभाका लागि तयार पारेको वक्ताहरूको सूचीप्रति निधिले असन्तुष्टी देखाउँदै कार्यक्रममा उपस्थिति जनाएनन् । निर्वाचन परिचालन समितिले विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने शीर्ष नेताहरूको नाम सार्वजनिक गरेको थियो । गृहनगरमै हुने सभामासमेत उनको नाम समावेश नगरिएपछि उनी आक्रोशित भएका थिए । सूचीमा नाम समावेश नहुँदा चुनावी सभामा नजाने निष्कर्षमा निधि पुगेपछि उपसभापति गुरुङले अन्ततः पत्राचार गरेका थिए ।
गठबन्धनको तर्फबाट जसपाको लालकिशोर साह जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा र नेपाली कांग्रेसका किशोरी साह उपप्रमुखका उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेसकै बागी उम्मेदवार मनोज साह समेत नगरप्रमुखका उम्मेदवार हुन् । मनोज पार्टी भित्र निधि नजिकका नेता मानिन्थे ।
नेता निधिले आमसभा बहिष्कार गरेपछि गठबन्धनको उम्मेदवारलाई ठूलै धक्का पुग्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । धनुषा सहित मधेश प्रदेशमा पार्टी भित्र राम्रो दखल राख्ने निधिको अनुपस्थितिले विशेष अर्थ राख्दछ र यसको फाइदा कांग्रेसका बागी उम्मेदवारले उठाउने जानकारहरुको दाबी रहेको छ । तथापि यस विषयमा भने कांग्रेसका नेता कार्यकर्ताहरु केही बोल्न नचाहेको बताईन्छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !