पेरिस, चैत २९ गते ।
एजेन्सी
फ्रान्सका राष्ट्रपतिका लागि इमानुएल म्याक्रों र मरिन ले पेनबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका हुन् । दोस्रो स्थानमा आउन सफल पेनले २३.४७ प्रतिशत मत ल्याएकी हुन् ।
राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी मत ल्याए पनि अर्को चरणमा प्रतिस्पर्धा तीव्र हुने ठानिएको छ । चुनावी सर्वेक्षणहरूले दोस्रो चरणको मतदानमा म्याक्रोंले ५१ र पेनले ४९ प्रतिशत मत ल्याउने देखाएका छन् ।
२१.९५ प्रतिशत मत पाएका जाँ–लुक मेलेनचोन तेस्रो स्थानमा छन् । चौंथो, पाँचौं र छैटौं स्थानका जेमोर, पेक्रेस र जाडोटको कुल मत १७ प्रतिशत हाराहारी रहेको बीबीसीले जनाएको छ । आइतबार भएको पहिलो चरणको मतदानमा १२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
फ्रान्सको राष्ट्रपतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने हुन्छ । पहिलो चरणको मतदानमा ७३.३ प्रतिशत मत खसेको थियो । दोस्रो चरणको मतदान अप्रिल २४ मा हुँदै छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !