जनकपुरधाम, साउन ३ ।
भारतको सिमावर्ती क्षेत्र जयनगर देखि नेपालको कुर्था सम्म चल्ने रेल्वेको ट्रयाकको सफल परीक्षण गरिएको छ । भारतीय रेल्वेको इन्जिन तथा एउटा बोगी सहित जयनगर देखि जनकपुरधाम हुँदै कुर्थासम्मको ट्रयाकको सफल परीक्षण गरिएको हो ।
भारतको जयनगरबाट धनुषाको कुर्था स्टेशनसम्मको दुरी ३५ किलोमिटर रहेकोमा आउने क्रममा प्रत्येक घण्टा ६० को गतिमा र कुर्थाबाट जयनगर जाने क्रममा १ सय २० को गतिमा गएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनले भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको बताए ।
भट्टराईले ट्रयाकको सफल परीक्षण गरिएपनि रेल कहिले देखि चल्ने त्यो अन्यौलमै रहेको बताए । उनले भने, ‘रेल चलाउने भनेको सरकारहो, अहिले रेल जुन मन्त्रालयको मातहतमा छ त्यसमा मन्त्री समेत छैन् । त्यसैले मन्त्रीको नियुक्ति भइसकेपछि मन्त्री स्तरिय निर्णयबाट सञ्चालन हुन्छ ।’
भट्टराईले आज सफलतापूर्वक रेल्वेको ट्रयाकको परीक्षण भएको प्रतिक्रिया दिए ।
भारत सरकारको सहयोगमा भारतको जयनगर देखि धनुषाको कुर्था सम्म चल्ने रेल्वे ट्रयाक निर्माण गरिएको छ भने नेपाल सरकारले त्यसमा रेल चलाउनको लागि दुई सेट रेल समेत खरिद गरिसकेको छ । नेपाल सरकारले खरिद गरेको दुई सेट रेल गत असोज २ गते नै नेपाल ल्याइएको थियो । अहिलो दुवै सेट रेल धनुषाकै जनकनन्दिनी गाउँपालिका स्थित इनर्वा स्टेशनमा राखिएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !