भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो ।
हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान साढे सात बजे निधन भएको पुष्टि गरे । बुढेसकालमा हुने बिमारीका कारण दीलिप कुमारको निधन भएको उनले जानकारी दिए ।
बिहान ८ बजे दीलिप कुमारको ट्वीटर ह्याण्डलबाट पनि निधनको जानकारी दिइएको छ । पारिवारिक साथी फैसल फारुकीले सो ट्वीट गरेका हुन् ।
दीलिप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत दुःख व्यक्त गर्दै उनको निधन साँस्कृति दुनियाका लागि ठूलो क्षति रहेको उल्लेख गरेका छन् ।
दीलिप कुमारलाई गएको हप्ता अस्पताल भर्ना गरिएको थियो । यसअघि स्वासप्रस्वासमा समस्याभएपछि जुन ६ मा उनलाई अस्पताल लगिएको थियो ।
‘ट्रेजढी किङ्ग’ का रुपमा सुपरिचित रहेका दीलिप कुमारले आफ्नो पाँच दशक लामो चलचित्र यात्रामा ‘मुगले आजम, देवदास, राम और श्याम’ जस्ता हिट चलचित्र दिएका छन् । उनी पछिल्लोपटक सन् १९९८ को किला चलचित्रमा देखिएका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !