जनकपुरधाम, असार ११ । प्रदेश २ को कोरोना संक्रमितको संख्यामा कमी आएको छ । प्रदेशको ८ जिल्लामध्ये ६ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए । प्रदेशमा हाल २ हजार ५ सय ३४ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ सय १ जना विभिन्न अस्पतालमा उपचाररत्त रहेका छन् भने २ हजार ४ सय ३३ जना होम आइसोलेशनमा रहेका छन् ।
कोरोनाको दोस्रो लहरमा संक्रमण दर घटेपछि सप्तरी, सिरहा, धनुषा, रौतहट, बारा र पर्सामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्सामा अहिले सबैभन्दा कमी कोरोनाको सक्रिय संक्रमित रहेका छन् । पर्सामा अहिले ६० जना कोरोनाको सक्रिय संक्रमित रहेकोमा २० जना विभिन्न अस्पतालमा र ४० जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै रौतहटमा ८५ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितहरु होम आइसोलेशनमै रहेको स्वास्थ्य निर्देशनलय प्रदेश २ का निर्देशक झाले जानकारी दिए । सिरहामा १ सय ६५ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । जसमा १ सय ५३ जना होम आइसोलेशनमा र १२ जना अस्पतालमा उपचाररत्त रहेका छन् । बारामा २ सय १२ जना, सप्तरीमा २ सय ४३, धनुषामा २५८, सर्लाहीमा ७ सय १४ र महोत्तरीमा ७ सय ९७ जना कोरोनाको सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाको कारण यस प्रदेशमा हालसम्म ३६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ८२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !