केन्द्रमा जनता समाजपादी पाटी भित्र उपेन्द्र यादव र महन्थ–राजेन्द्र पक्षबिच अन्तरद्वन्द्व बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर प्रदेश २को राजनीतिमा समेत पर्यो । महन्थ–राजेन्द्र पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा शामिल भएपछि यो अन्तरद्वन्द्व झनै बढेर गयो । त्यस लगत्तै प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका १ मन्त्री सहित ३ राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरे । बर्खास्त हुनेमा महन्थ–राजेन्द्र पक्षका जितेन्द्र सोनल पनि थिए । मन्त्री पदबाट हटाइएपछि अब रणनीति के हुने ? अहिलेको घटनाक्रमलाई उहाँले कुन रुपमा लिनु भएको छ लगायतका विषयवस्तु समेटेर गरिएको कुराकानीको अंश ।
तपाईलाई मन्त्री पदबाट हटाउने विषयमा पूर्वानुमान थियो वा अप्रत्याशित लाग्यो ?
राजनीतिकर्मीका लागि सत्तामा हुनु वा नहुनु, सत्तारोहण हुनु वा सत्ता अवरोहण हुनु स्वभाविक प्रकृया हो । जसरी अहिले जनता समाजवादी पार्टी भित्र राजनीतिक घटनाक्रमको विकास भएको छ, पार्टीको केन्द्रदेखि प्रदेशसम्मको स्थिति त्यती राम्रो छैन । यसले के दर्शाउँछ भने अहिलेको परस्थितिमा केही पनि सम्भव छ । महन्थ ठाकुरजीलाई कारबाही मैले कल्पनासम्म गर्न सक्दिन । उपेन्द्रजी माथी कारबाही, एउटै पार्टीको दुई नेता सदनमा शुभकामना मन्तव्य राख्दा २ धारको कुरो राख्नु, एक नेता विपक्षीसंग गठबन्धन गरेर वैकल्पिक सरकारको कुरो गर्नु यो सब घटनाक्रमले यसलाई प्रमाणित गर्छ कि यस्तो स्थितिमा जे पनि सम्भव छ । जब जे पनि सम्भव छ भने कोही मन्त्री पदबाट हट्नु र कोही मन्त्री बन्नु पनि सम्भव छ । पछिल्लो क्रममा जसरी राजनीतिक घटना क्रम चल्यो यसले हामीले कसैलाई हटाउन सक्छौँ वा हामीलाई नै हटाउन सक्छ भन्ने कुरो स्वभाविक रुपमा मनमा थियो ।
जसरी तपाईलाई पदबाट हटाइयो यसलाई कुन रुपमा लिनु हुन्छ ?
हेर्नुस, यो त राजनीतिक बेइमानी हो । राजनीतिकर्मीलाई पदबाट हटाउने विषयलाई म सहर्ष स्वीकार गर्छु तर जसरी जुन प्रकृयाले हटाइयो यो पूर्ण रुपमा बेइमानी हो ।
मन्त्री पदबाट हटेको सूचना पाएपछि के गर्नुभयो ?
यो गत २३ गतेको घटनाक्रम हो । मधेशभवनमा सबैजना संगै थियौँ । म पार्टीको कार्यकारिणी सदस्य हुँ, क्याबिनेटको सदस्य हुँ, प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्छु । म सबैकुरोलाई त्यो दिन नियाली रहेको थिएँ मलाई लाग्यो सब ठीक होइन । यो त धोखाको पराकाष्ठा भयो । केन्द्रिय अध्यक्ष आउनु भएको छ, उहाँ सबैसंगै एक्लै एक्लै भेट गरिरह्नु भएको छ, माइन्युटमा हस्ताक्षर गराई राख्नु भएको छ त्यसपछि मलाई लाग्यो यो राजनीतिक बेइमानी हो । उहाँले काठमाडौँमा के गर्नुभयो ? कसले कसलाई कारबाही गर्यो त्यो त्यागेर प्रदेशमा ५५ जनालाई बोलाएर कुरो उहाँले गर्नु पथ्र्यो । तर उहाँले चोरबाटो भएर सबै प्रकृया अगाडी बढाए । जब मैले संचारमाध्ययमबाट जानकारी पाएँ त्ययसपछि अन्तरमनमा लाग्यो अब यो सहकार्य बढी अगाडी जानेबाला छैन ।
जब लालबाबु राउत संसदीय दलको नेता बन्नु भयो ?
त्यस्तो मैले समाचार सुनेँ उहाँ दलको नेता बन्नु भएको छ वा छैन त्यो मलाई अहिलेसम्म थाहा छैन । कुन विधिबाट बन्नु भएको छ, कहाँ बैठक भयो ?, कस कससलाई सूचना गरियो, पार्टीको विधान अनुरुप छ वा छैन, दलको ऐनको हिसाबले यो प्रकृया पूरा गरिएको छ कि छैन ? यो सबै विषय अहिले विचाराधिन छ । यसमा म टिका टिप्पणी गर्न चाहँदिन ।
भनेपछि उहाँलाई संसदीय दलको नेतामा चयन गर्र्नु तपाईको दलको विधान अनुरुप छ कि छैन ?
बिल्कुलै छैन । मेरो दलको विधानको परिच्छेद ५मा प्रदेशसभाको दल सम्बन्धि व्यवस्था गरिएको छ । त्यसमा स्पष्ट रुपमा लेखिएको छ प्रदेश संसदीय दलको लागि प्रदेश समितिबाट प्रदेश संसदीय दलको विधान पारित हुनेछ, सोही अनुरुप संसदीय दलको गठन हुनेछ । तर जब प्रदेश समिति छैन भने विधान कसले पारित गर्नेछ । यो त कमसे कम व्याख्या हुनु पर्यो नि । प्रदेश समिति नरहेको अवस्थामा नेता कसरी बनाइयो ? प्रदेश समिति छैन भने कार्यकारिणी समिति होला, केन्द्रिय समिति होला त्यहाँ यो विषयमा छलफल हुन पर्यो कि नै ?
मन्त्रीमण्डलमा मुख्यमन्त्री लालबाबु राउत तपाईको घनिष्ठ मित्र हुनु हुन्थ्यो ?
उहाँ अहिले पनि मेरो अनन्य मित्र हुनु हुन्छ ।
पदबाट हटाइएपछि कुरो भएको छ उहाँ संग ?
होइन, अहिले भएको छैन । तर कुरा हुन्छ नै उहाँ संग ।
पछिल्लो समय तपाई मन्नत्रीपरिषद बैठकमा अननुपस्थित रहँदै आउनु भएको थियो किन, कुनै मनमुटाव थियो कि ?
न मनमुटाव थियो न त असन्तुष्टि नै । तर जसरी मन्त्रीपरिषदको बैठक चल्नुपर्ने थियो त्यो चल्न सकिरहेको थिएन । सरकारको नीति तथा कार्यक्रम हुन्छ, सरकारको बजेट हुन्छ । जब नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिदै गयो मन्त्रीमण्डल भित्र कुरो गर्ने प्रयास गरेँ । तर कुनै कुरो राम्ररी चल्न सकिरहेको थिएन । निति तथा कार्यक्रम पोेलिटकल डक्युमेन्ट हो नि, सरकारको डक्युमेन्ट हो । यसका लागि सरकारमा रहेका नेताहरु बिच यस विषयमा छलफल हुनु परयो नि, न कि ब्युरोक्रेट्स स्तरमा । निति तथा कार्यक्रम ब्युरोक्रेटिक डक्युमेन्ट होइन ।
अर्थात सरकार तपाईहरुले होइन, कर्मचारीहरुले चलाई रहेका छन् ?
सरकार कर्मचारीहरुले चलाईरहेका छन् त्यो म भन्दिन । मलाई यो भन्नु छ जहाँ जे विषयमा कुरो हुनुपर्ने थियो त्यसको अभाव थियो । त्यसैले मेरो मनमा यसलाई सुधार गर्नु पर्छ लाग्थ्यो । तर समस्या के छ भने जनता समाजवादी पार्टी २ पार्टीहरु राजपा र सपा मिलेर बन्यो । तत्कालिन सपा पार्टी भित्र विभिन्न गुट छ तत्कालिन राजपा त ६ पार्टी मिलेर बनेको पार्टी नै थियो । त्यसकै अन्तरद्वन्द्व सबैठाउँमा देखिन्थ्यो । घटनाक्रम परिपक्व हुँदै गएपछि संचारमाध्यमबाट जनताले पनि यस परस्थितिको विषयमा जानकारी पाउने छन् ।
अब तपाईहरुको लालबाबु राउतजी संग मिल्ने सम्भावना छ ?
मैले पहिल्यै भने नि राजनीतिमा जे पनि ससम्भव छ । शेरबहादुर देउवाजीले प्रचण्डजीको टाउकोको मूल्य तोक्नु भएको थियो, उपेन्द्र यादवजी प्रचण्डको डरले लुकीछिपी बस्नु हुन्थ्यो तर आज हेर्नुुस एकठाउँ छन नि तीनै जना । यो हुनसक्छ भने म र लालबाबुजी बिच के नै भएको छ र ? राजनीतिमा जे पनि सम्भव छ ।
अब के गर्नु हुन्छ ?
२/४ दिन प्रतिक्षा गर्नुस । कसरी घटनाक्रम अगाडी बढ्छ । त्यपछि मात्रै महन्थ ठाकुरजीको निर्देशानुसार हामीले आगामी रणनीति बनाएर अगाडी बढ्ने छौँ । अहिले घटनाक्रम परिपक्व हुन दिनुस ।
यो विषयमा टिप्पणी गर्नुहोस् !