द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २ ।
मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुड़शितल पर्व मनाइदै छ ।
वैशाख संक्रान्तिको भोली पल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन् ।
यस अघि परिवारका श्रेष्ठजनबाट बिहान हुने वित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा रहेको छ ।
होली पर्वमा रंग अविर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दल्ने परम्परा रहेको छ ।
जुडशितल पर्वमा पुरानो वर्षको वासी खाना खाने परम्परा समेत रहेको छ । पुरानो वर्षमा बनाइएको अन्तिम खाना नया वर्षमा खाने गरिन्छ ।
पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे ।
तर समाजमा आधुनिकता छोएसंगै यो परम्परा लोप हुँदै गईरहेको संस्कृतिविदहरु बताउँछन् ।
लोपोन्मुख हुंदै गईरहेको मिथिलाञ्चलको यो लोकपर्व जुडशितललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघ संस्थाको पहलमा यो पर्व जनकपुरधाममा मनाइएको छ ।
जनकपुरधामस्थित गंगासागर पोखरीको डीलमा सेभ हिस्टोरिकल जनकपुरधामका कार्यवाहक अध्यक्ष अमरचन्द्र अनिलको अगुवाईमा जुडशितलको आयोजना गरिएको थियो ।
सो कार्यक्रममा उपस्थित गन्मान्य व्यक्तिहरुले एक अर्कालाई हिलो पानी लगाएर जुडशितल पर्व मनाएका छन् ।
गृष्म ऋतुको शुरुवातसंगै शितलताको प्रतिकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको प्रदेश २का प्रदेशसभा सदस्य रामअशिष यादव बताउँछन् ।
जुडशितल पर्वमा एका बिहानै बोट बिरुवामा पानी हाल्ने परम्परा समेत रहेको छ ।
यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिन्छ अमरचन्द्र अनिलको भनाई छ ।
यसका अतिरिक्त जुडशितल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।
जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शितलता प्रदान हुने जनविश्वास रहेको छ ।
गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्मरोग विशेषज्ञ डा. प्रमोद कुमार झाले बताए ।
आधुनिक परिवेशका कारण यो पर्वको साकारत्मकता तर्फ ध्यान नै नदिई फोहोर खेल मात्रै मानेर टाढिने गरेको पाइन्छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !